राई पाछाका कथाहरु
किरात राई पाछाका केहि ऐतिहासिक कथाहरुः
कुनै समयमा एकजना खम्बू रावाखोलाको छेउमा बस्ने गर्दथ्यो। उ तत्कालिन दरवारमा सेवा गर्दथ्यो। उसले बाह्र बर्षसम्म आफ्नो तलब लिएन। त्यसको बदलामा उसले आफ्नो एउटा इच्छा पुरा गरिदिन बिन्ति गर्यो। र त्यो इच्छा थियो आफ्नो जन्म ठाउँलाई आफ्नै नाउँ दिने। तत्पश्चात उसको इच्छालाई स्वीकार गरी माझ किरातको रावा खोलाको वरिपरिको क्षेत्रलाई साङपाङ भनियो।
उहिले चोमोलोङमाको आसपासमा एक किरात दम्पति बस्दथे। उनीहरुको कुनै सन्तान थिएन। सन्तान सुख नभएकोले बूढी दिनहुँ बिहान उठेर सूर्यलाई ‘सन्तान देउ, गर्भ बसाई देउ’ भनेर ढोग्ने गर्थिन्। बिहानै सूर्यलाई ढोग्ने ती बूढी बेलुकी भने फेरि सूर्यसित नै रिसाउँथिन्। ‘मेरो गर्भ बसाइदिएनौ, लोग्नेसँग सम्बन्ध नै गरिदिएनौ …’ भन्दै सूर्यसित गुनासो गर्थिन्। समय बित्दै जाँदा उनको गर्भ बस्यो। उनको कोखबाट छोराको जन्म भयो। जन्मेको छोरालाई ‘निनामवात्तइदिछुब’ भनियो। किरात चाम्लिङ भाषामा यसको अर्थ ‘घामले दिएको फूल’ भन्ने हुन्छ। सूर्य अर्थात घामको आशीर्वादले जन्मिएको हुनाले उसलाई पछि ‘निनामबुङ’ भनियो। किराती भाषामा ‘निनाम’को अर्थ ‘घाम’ र ‘बुङ’को अर्थ ‘फूल’ भन्ने हुन्छ। उही निनामबुङछाका सन्ततिहरु नै अहिलेका चाम्लिङ निनामबुङछा हुन भन्ने किराती मिथक रहेको छ।
भोजपुरको नजिकै खोटाङमा बुङाखोला रहेको छ। त्यसैको छेउको पुसुइहाङका छोरा दाजुभाइ खुब शिकार गर्ने गर्थे। शिकार खेल्ने क्रममा एउटा भाइ चाँही खोलाको किनारमा ढकमक्क फूल फुलेको देखेर यो कति राम्रो? यो पनि कति राम्रो? (ओको डेम खान्नुवो? ओको छाङ डेम खान्नुवो? भन्दै फूल छान्न, रोज्न थालेछ। राई बान्तावा भाषामा बुङ भनेको फूल हो र छेन भनेको छान्ने, रोज्ने अर्थ लाग्छ। बान्तावा भाषामा ‘हना ओको खास्को बुङछेनकावा मना’ (हैन यो कस्तो फूल छान्ने मान्छे) भनेछन्। अरुले त्यसलाई बुङछेन भनेछन्। त्यही नाम पछिबाट थर रहन गयो ।